सुनसरी । सुनसरीको गढी गाउँपालिका ५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खतिवडाले बालकको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् । पिल्लर ढल्दा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।
तर, अवस्था गम्भीर भएपछि उनको उपचारकै क्रममा मृत्यु भएको हो । बालकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




