सुनसरी । सुनसरी जिल्लाका दुई फरक स्थानबाट ठूलो मात्रामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भोक्राहानरसिंह गाउँपालिका ६ फुलचोकबाट नियन्त्रित लागूऔषध दुई युवा पक्राउ परेका हुन् ।
ट्रामोल १,१९० ट्याब्लेट र स्पास्पेन १,०२८ ट्याब्लेटसहित सप्तरी, सप्तकोशी नगरपालिका ६ फत्तेपुरका ३२ वर्षीय प्रदीप विकलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।
त्यस्तै, इटहरी उपमहानगरपालिका ९ भोजपुरे टोलबाट करिब ९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पाँचथर, फिदिम नगरपालिका ३ का ३२ वर्षीय किरण मुखियालाई पक्राउ गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ डेराबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, दुवै घटनामा संलग्नहरू माथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।




