काठमाडौं । आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराईमा यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।
रङहरूको पर्व होली मित्रता, आत्मीयता, सामिप्यता र सद्भाव प्रकट गर्ने चाडका रूपमा लिइन्छ । यस अवसरमा साथीभाइ, आफन्तजनहरू भेला भएर एक-अर्कालाई रङ दलेर उत्सव मनाउने प्रचलन रहेको छ ।
वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । पौराणिक कथनअनुसार, सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्ने षड्यन्त्र स्वरूप हिरण्यकश्यपले आगोबाट नजल्ने वरदान प्राप्त गरेकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाएका थिए ।
तर, होलिका आफैं आगोमा जलेर नष्ट भइन् भने प्रह्लाद सुरक्षित रहे । यही घटना असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गरिँदै होली मनाउने परम्परा बसालिएको हो । होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको छ ।
नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय मानिन्छ । रातो रङलाई शक्ति र सौभाग्यको प्रतीक मानिन्छ भने भगवान गणेशलाई सबै रङ प्रिय मानिन्छ । यसै अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।




