“मार्गशीर्ष शुभे मासि यादाद्यात्रा महीपति” यस भनाइबाट स्पष्ट हुन्छ कि यात्राको अर्थ गति हो । नियात्रामा यात्राका क्रममा देखिएका, भोगिएका राम्रा नराम्रा अनुभवलाई जस्ताको तस्तै वर्णन गरिन्छ । कुनै पनि कुरा प्रत्यक्ष देखेर, छोएर, अवलोकन गरेर मात्र नियात्रा तयार गरिन्छ । अनुभवहरू संकलन गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न यात्रा अनिवार्य हुन्छ । पढेका कुरा बिर्सन सकिएला तर प्रत्यक्ष देखेका, अनुभव गरेका कुरा हाम्रो मनसपटलमा सदा ताजा रहिरहने भएकाले पनि यात्रा आवश्यक हुन्छ ।
मानिसलाई व्यस्त जीवनशैलीका बीच कहिले काहीँ यात्राले पनि पुनस् ताजापन ल्याउने भएकाले यसको महत्वपूर्ण भूमिका रहन्छ । कुनै ठाउँको धार्मिक, सांस्कृतिक, प्राकृतिक, पौराणिक तथा ऐतिहासिक महत्त्व बुझ्न त्यहाँको भाषा, धर्म, संस्कृति, रहनसहन, जीवनशैली, चालचलन नजिकबाट नियाल्न यात्रा आवश्यक हुन्छ । यात्राबाट हामी प्रत्यक्ष रूपमा धेरै तिता मिठा अनुभवहरू संकलन गर्छौँ ।
गैंडाकोट नगरपालिका वार्ड नम्बर १ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका शिक्षक साथीहरू नेपालकै प्रसिद्ध धार्मिक स्थल दोलखा जिल्लाको कालिञ्चोक भगवतीको थानमा जाने निर्णयमा पुग्यौँ । त्यसका लागि २०८० साल पौष २८ र २९ गते रोज्यौँ । हामी २० जना शिक्षक साथीहरू बिहान ५ बजे हाइसमा यात्रा प्रारम्भ गर्यौँ । म ९लेखक० भूमिका गैरे तिमिल्सिना पनि यस यात्रामा सहभागी थिएँ ।
हाम्रो यात्रा नारायणगढ-मुग्लिन सडकखण्ड हुँदै अगाडि बढ्यो । बिहान ११ बजे कलंकी पुगेर खाना खायौँ । त्यसपछि बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोक, सुकुटे, जलबिरे, खाडीचौर, सुनकोशी हुँदै यात्रा अगाडि बढ्यो । सिलढुंगामा छोटो विश्राम गरी हामी मुडेमा खाजा खाएर खरीढुंगा, गोच, मकैबारी हुँदै चरिकोटसम्म पुग्यौँ । बेलुका ८ बजे चरिकोटमा किनमेल गरी कुरीगाउँ जानका लागि छुट्टै वलेरो जीप र हाइसमा विभाजित भयौँ ।
कुरीगाउँसम्म १८ किलोमिटरको पहाडी, घुमाउरो, साँघुरो बाटो पार गर्नु पर्यो । कतै कच्ची त कतै पक्की बाटो हुँदै, जङ्गली जनावरहरूको डरका बीच हामी ९:३० बजे कुरी गाउँ पुग्यौँ । होमस्टेमा बसेर आगो ताप्दै दिनभरिको यात्राका अनुभवहरू बाँड्यौँ । राति ११:३० बजे खाना खाई, केही साथीहरू हिउँ हेर्न गए भने हामी १ बजे सुतेका थियौँ ।
बिहान ५ बजे उठेर नित्य कर्म सकेर कालिञ्चोक भगवतीको थानतर्फ प्रस्थान गर्यौँ । समुद्री सतहदेखि ३८४२ मिटर उचाइमा रहेको यस मन्दिरसम्म कोही पैदल त कोही केवलकारमार्फत पुगेका थियौँ । केवलकारमार्फत ५ मिनेटमै डाँडामा पुग्न सकिन्छ । त्यहाँबाट देखिने कञ्चनजंघा, जुगल, गणेश, गौरीशंकर हिमश्रृङ्खला तथा मनोरम प्राकृतिक दृश्यले सबैको मन लोभ्यायो । सेल्फी डाँडाबाट झुरुप्प कुरीगाउँको दृश्य पनि अवलोकन गर्यौँ ।
कालिञ्चोक भगवतीको थानमा दर्शनार्थीहरूको लामो लाइन थियो । भक्तजनहरू त्रिशूल र घण्टी चढाउने परम्परा रहेछ । त्यहाँ विशेष गरी मङ्गलबार र शनिबार भीड लाग्ने तथा नयाँ वर्ष, बडादशैं, चैते दशैं, जनैपूर्णिमा जस्ता पर्वहरूमा विशेष पूजाआजा गरिने जानकारी पुजारी भीम थापाबाट पाइयो । “जसको कोही हुँदैन, त्यसको कालिञ्चोक भगवती हुन्छिन्” भन्ने जनविश्वास रहेछ ।
८:३० बजे कालिञ्चोकबाट फर्केर चरिकोटको भीमेश्वर मन्दिर दर्शन गर्न गयौँ । मन्दिरको मुख्य ढुङ्गाले छापिएको साघुँरो बाटो पार गरी भित्र प्रवेश गर्यौँ । यहाँ बिहान, दिउँसो गरी तीन अवतारको पूजा गरिने रहेछ । देशमा ठूलै अनिष्ट घटना हुनु अघि भीमेश्वर महादेवको मूर्तिमा पसिना आउने जनविश्वास रहेछ । शाहवंशीय राजा वीरेन्द्रको वंश नाश हुनु पूर्व, २०७२ सालको भूकम्प जानु पूर्व मूर्तिमा पसिना आएको थियो भन्ने जानकारी स्थानीय बासिन्दाबाट पाइयो ।
१ बजे त्यहाँबाट फर्केर ३ बजे मुडेमा खाजा खाई, खाडी चौर हुँदै लामोसाँघुबाट अगाडि बढ्यौँ । बाह्रबिसे, राम्चे, भोटेकोशी हुँदै नेपाल-चीनको संगम स्थल खासा पुग्दा बेलुका ५:२० बजेको थियो ।
७ बजे घर फर्कने रात्रीकालीन यात्रा सुरू भयो । राति ११ बजे कलंकीमा खाना खाई, १२:२० बजे धादिङमा चिया पिउँदै घरतर्फ लाग्यौँ । राति २:४० बजे बेनीघाटमा पुगेपछि अप्रत्याशित घटना भयो । मुग्लिनतर्फ जाँदै गरेको बस र हाम्रो हाइस १० मिटरको दूरीमा थियो, अचानक सुख्खा पहिरो खस्यो । हाइसको अगाडि ठूलो ढुङ्गा लागेर क्षति भयो । सबै जना हतासियौँ । हाइस ब्याक गर्दा पछाडि जीपसँग ठोक्कियो, जाम परिसकेको थियो ।
सबै जना स्तब्ध भयौँ । हात गोडा थरथर काँपिरहेको थियो । आज ठूलो दुर्घटनाबाट जोगियौँ भन्ने लाग्यो । पहिरो खस्ने क्रम जारी थियो, विवाद उत्पन्न भएपछि हामी अस्थायी प्रहरी क्याम्पमा पुग्यौँ । कानुनी प्रक्रिया पूरा भएपछि ४:२० बजे पुन: नारायणगढतर्फ लाग्यौँ । बिहान ६:३० बजे सकुशल घर आइपुग्यौँ ।
नेपालमा सडकको अवस्था अत्यन्तै नाजुक छ । आन्तरिक पर्यटकहरूका लागि जोखिम रहिरहेकाले सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । नेपालमा पर्यटकीय स्थलहरू विश्वमै बेजोड छन्, तर आन्तरिक पर्यटकहरूले चासो दिनुपर्ने आवश्यकता छ । विदेशका झिलिमिलीभन्दा आफ्नै देशका सुन्दरता बुझ्न, अवलोकन गर्न र अध्ययन गर्नुपर्छ । नेपालमा रहेका विभिन्न जाति, भाषा, धर्म, संस्कृति, परम्परा, रहनसहन तथा ऐतिहासिक सम्पदाहरू बुझ्न आवश्यक छ। नेपाल क्षेत्रफलमा सानो भएपनि विविधताले भरिएको छ, जसले गर्दा यस देश आफैंमा एक अनुपम गन्तव्य बनेको छ ।




