बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई गाउँमा उपद्रो गरेको आरोपमा पक्राउ गरिएको हो ।
शुक्रबार राति अध्यक्ष गुप्ता आफ्ना समर्थकहरूको समूहसहित स्थानीय परशुराम गिरीको घरमा पुगेका थिए । सोही क्रममा गिरीको घरमा ढुंगामुढा प्रहार गरेको आरोप लागेको छ । घटनाका क्रममा गिरी र उनको परिवारमाथि निर्घात कुटपिट समेत भएको बताइएको छ ।
परिवारमाथि भएको आक्रमणको प्रतिकारस्वरूप परशुराम गिरीले बन्दुक निकालेर एक राउन्ड हवाई फायर गरेका थिए, जसपछि अध्यक्ष गुप्तासहितको समूह भाग्न बाध्य भएको थियो ।
उक्त घटनासँग सम्बन्धित उपद्रव मुद्दामा गुप्तालाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




