वीरगंज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको ८ महिनामा आन्तरिक राजस्व संकलन वृद्धि भएको जनाएको छ । तर, राजस्व वृद्धि भए तापनि महानगरको आर्थिक समस्या यथावत् रहेको छ ।
महानगरपालिकाका राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुन मसान्तसम्म ३३ करोड २० लाख ४६ हजार ६१७ रुपैयाँ राजस्व संकलन भएको थियो, जबकि चालु आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ५६ लाख ८७ हजार ७७८ रुपैयाँ संकलन भएको छ ।
गत वर्षको तुलनामा फागुन महिनामा मात्रै ३६ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । फागुन महिनामा मात्र सम्पत्ति कर ७८ लाख ३ हजार, घरबहाल कर ४६ लाख २ हजार २२६, व्यवसाय दर्ता दस्तुर १० लाख १५ हजार ५३०, पूर्वाधार कर ७० लाख ५ हजार ९० रुपैयाँ संकलन भएको महानगरले जनाएको छ ।
महानगर आर्थिक समस्याग्रस्त
राजस्व वृद्धि भएपनि वीरगंज महानगर आर्थिक संकटबाट गुज्रिरहेको छ । दशैं, तिहार, छठ लगायत चाडपर्वका बेला मात्र कर्मचारीलाई तलव दिन सकिएको थियो भने अहिले पनि विभिन्न भुक्तानी रोकिएका छन् ।
महानगरसँग निर्माण व्यवसायीहरूले लिएको ठेक्काको भुक्तानी दिन सकिएको छैन । साना साना सेवाबाट अवकाश प्राप्त कर्मचारीको पेन्सन, सामाजिक सुरक्षा भत्ता, तथा अन्य खर्च व्यवस्थापन गर्न महानगरलाई कठिनाइ भइरहेको छ ।
प्रदेश सरकारले तीन किस्तामा ३७ करोड रुपैयाँ पठाउने योजना गरेपनि हालसम्म ७ करोड १९ लाख ९४ हजार मात्र उपलब्ध गराएको छ । संघीय सरकारबाट आउने अनुदान समेत समयमा नआउँदा आर्थिक भार थपिएको कर्मचारीहरू बताउँछन् ।
वीरगंज महानगरले पछिल्ला आर्थिक वर्षहरूमा अनियन्त्रित खर्च गरेको र बजेट व्यवस्थापनमा ध्यान नदिएकाले अहिले आर्थिक संकट झेल्नु परेको कर्मचारीहरू बताउँछन् । आम्दानी र अनुदानको दायरा बुझेर बजेट बनाइएको भए अहिलेको अवस्था नआउने उनीहरूको भनाइ छ ।






