सप्तरी । सप्तरी जिल्लामा मंगलबार बिहान विद्युत सर्टका कारण तीन छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करोडौं बराबरको धनमाल नष्ट भएको छ ।
छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीमा ३० वर्षीय देव नारायण पण्डितको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका ३५ वर्षीय रामेश्वर पण्डित, ३६ वर्षीय धनराज पण्डित र ५५ वर्षीय जुगेश्वर पण्डितको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, छिन्नमस्ता गाउँपालिका १ मा बस्ने बैजनाथ खंगको घरमा मंगलबार बिहानै विद्युत सर्टका कारण आगलागी हुँदा करिब ८ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी, डाक्नेश्वरी नगरपालिका ५ गोविन्दपुरमा सोमबार राति राजीव यादवको गोठमा आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




