काठमाडौं । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी ९ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् । गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् ।
तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन् ।
बालिकाका बुवाआमा असक्त अवस्थाका हुनुहुन्छ । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताउनुभयो । “घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उहाँले भन्नुभयो, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ ।
कहीँकतैबाट सहयोग छैन।उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गर्नुभएको छ । रासस






