काठमाडौं । धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल संयुक्त प्यानलकी उम्मेदवार आस्मिन शेख सभापतिमा निर्वाचित भएकी छन् ।
उनले ५५२ मत प्राप्त गर्दै विजयी हासिल गरिन् । योसँगै उनी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको पहिलो मुस्लिम महिला सभापति बन्न सफल भएकी छिन् ।
सभापति पदका लागि प्रतिस्पर्धी नेविसंघकी सृष्टि आचार्यले ४२९ मत प्राप्त गरिन् भने स्वतन्त्र विद्यार्थी समूहका दीपक सुवेदीले ७ मत प्राप्त गरे ।
त्यस्तै, सचिव पदमा नेविसंघका सविन हरिजन ५३४ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी अखिल संयुक्त प्यानलका रुब बहादुर पुनले ५०९ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा नेविसंघका विशाल थापा ५४५ मत ल्याएर विजयी बने । अखिल संयुक्त प्यानलकी उम्मेदवार रेखा शर्माले ३६८ मत प्राप्त गरिन् ।
स्ववियु निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । विजयी उम्मेदवारहरूले विद्यार्थीका हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।






