सर्लाही । ईश्वरपुर नगरपालिका ४ खोकनाजंगलस्थित सडकमा मंगलबार दिउँसो मोटरसाइकल र ट्याक्टरको ठक्करबाट ६४ वर्षीय दान बहादुर कार्कीको मृत्यु भएको छ ।
प्रदेश २-०३-०१४ प १६८४ नम्बरको मोटरसाइकललाई प्रदेश २-०२-००१ त ८२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका दान बहादुर कार्कीको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सर्लाही, बलरा नगरपालिका ११ छतौनास्थित सडकमा मंगलबार दिउँसो दुई मोटरसाइकल बीचको ठक्करमा ४६ वर्षीय नरेश प्रसाद जयसवालको मृत्यु भएको छ ।
प्र २-०३-०१८ प ३२०६ नम्बरको मोटरसाइकल र प्र ०२-००६ प ००६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । नरेश प्रसाद जयसवालको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अर्का सवारलाई वयोधा अस्पताल वीरगंजमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




