पाँचथर । फाल्गुनन्द गाउँपालिका ४ का वडा सचिव पंचराज नेम्बाङमाथि कार्यकक्षमै भौतिक आक्रमण तथा गालीगलौज भएको घटना प्रति एकीकृत सरकारी कर्मचारी संगठन, जिल्ला कार्यसमिति पाँचथरले निन्दा गरेको छ ।
गत सोमबार मध्यान्ह १२ बजे सेवा प्रवाह गरिरहेका सचिव नेम्बाङलाई सोही वडाका बुद्धहाङ नेम्बाङले गालीगलौज गर्दै अश्लील शब्द प्रयोग गर्दै शारीरिक आक्रमण गरेका थिए । घटनामा सचिव नेम्बाङ गम्भीर घाइते भएका छन् ।
सरकारी कर्मचारी संगठन, जिल्ला कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरिएको छ । साथै, घटनालाई प्रभावित पार्ने कुनै पनि कार्य भए प्रतिवाद गर्ने चेतावनी पनि संगठनले दिएको छ ।
विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीहरूमाथि हुने यस्ता अराजक हिंसात्मक घटनाहरूले कुनै पनि पक्षको भलो नहुने उल्लेख गर्दै, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।
साथै, राष्ट्रसेवक कर्मचारीहरूलाई सुरक्षित तथा मर्यादित वातावरणमा काम गर्न पाउने व्यवस्था मिलाउन र यस्ता घटनाहरू पुन: दोहोरिन नदिन सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।
यस घटनापछि कर्मचारी संगठनले दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रशासनिक निकायसँग आवश्यक पहल गर्न आग्रह गरेको छ ।






