चितवन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिएको आरोपमा पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीका अनुसार कोइरालालाई भरतपुर महानगरपालिका ४ कटहर चोकस्थित एक होटलबाट पक्राउ गरिएको हो । उनले औषधि आपूर्तिकर्तालाई भुक्तानी दिने सर्तमा घुस मागेको पुष्टि भएपछि आइतबार रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए ।
कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नबनाउने गरेको आरोप लाग्दै आएको छ । अख्तियारले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




