नियात्रा भनेको यात्रा साहित्यको एक विशेष प्रकार हो, जसलाई निबन्ध यात्रा पनि भनिन्छ । यसमा यात्राका क्रममा प्राप्त व्यक्तिगत अनुभव, स्थानगत अनुभूति र परिवेशगत परिचय समेटिएको हुन्छ । यात्राले गतिशीलता आवश्यक हुन्छ, र नियात्रामा निजात्मकता थपेर यात्रा अनुभवलाई कलात्मक ढंगमा प्रस्तुत गरिन्छ । पाठकलाई यात्राकारसँगै यात्रा गरिरहेको अनुभव गराउनु यसको मुख्य उद्देश्य हो । लेखकीय इमान्दारिता, सूक्ष्म अवलोकन, निष्पक्षता र प्रभावकारी घटना सम्प्रेषणले नियात्रालाई अझ रोचक बनाउँछ ।
यात्राको आरम्भ
गैंडाकोट नगरपालिका वार्ड नम्बर ४ अन्तर्गतको “नमुना जागृति महिला समूह”द्वारा जनकपुरधामको रामजानकी मन्दिर जाने निर्णय गर्यौं । मिति २०८० साल माघ २७ गते, शनिबार बिहान ४:०० बजे, ४२ जना दिदीबहिनीहरू गाडी चढेर यात्रामा निस्कियौं । समूहकी सचिव र म (भूमिका गैरे तिमिल्सिना) पनि उपस्थित थियौं । हाम्रो यात्रा मिथिला राज्यको राजधानी जनकपुरधाम र सर्लाहीको भरततालसम्म एकदिने अवलोकनीय भ्रमणका रूपमा रहेको थियो ।
यात्रा मार्ग र अनुभव
हाम्रो गाडी हेटौंडा, जीतपुर, सिमरा, निजगढ, बकैँया पुल, बाग्मती (सर्लाही), सिकौल, आँमखोला, चन्द्रनिगाहपुर (रौतहट), चन्द्रपुर, मंगलपुर, हरिवन, लालबन्दी, बर्दीबास, महोत्तरी, मिथिला नगरपालिका हुँदै करिब १०:०० बजे लालगढ पुग्यो । यात्राका क्रममा गाडीभित्र दोहोरी गीतको आनन्द लिंदै यात्रा रमाइलो बनायौं । लालगढमा खाना खाएर ११:०० बजे पुन: यात्रा सुरु गर्यौं । त्यसपछि धनुषा, ढल्केबर, महेन्द्रनगर, सपही, लक्ष्मीनिया हुँदै पिडारी चौक पुग्यौं ।
जनकपुरधामको अवलोकन
हामी जनकपुर रेलवे लाइन हुँदै रामजानकी मन्दिर जान अटो चढ्यौं । सर्वप्रथम, जनकको कुटिया अवलोकन गर्यौं । राजा जनकले आफ्नो सम्पूर्ण सम्पत्ति राम-जानकीलाई कन्यादान दिएर त्यही कुटियामै बाँकी जीवन बिताएको कुरा सुनेर भावुक बन्यौं ।
त्यसपछि धनुषकुण्डको दर्शन गर्यौं । यहाँ गंगा सागरमा प्रत्येक साँझ गंगा आरती हुने जानकारी पाइयो । त्यसपछि छप्पनकोटी पुरुषोत्तम महाराजको मन्दिर पुग्यौं । यो मन्दिरमा छप्पन्न देवीदेवताका मूर्तिहरू छन्, जसले धार्मिक वातावरणलाई अझ पवित्र बनाएको छ । त्यहाँका ऋषिहरूका मूर्तिहरू समेत अति मनमोहक लाग्यो ।
रामजानकी मन्दिरको दर्शन
अत्यन्त विशाल क्षेत्रफलमा फैलिएको रामजानकी मन्दिर भव्य थियो । यसको निर्माण मुगल शैलीमा गरिएको रहेछ । मन्दिरभित्र विभिन्न देवी-देवताका मूर्तिहरू, हवनकुण्ड, तथा जानकीको जन्मदेखि विवाहसम्मको कलात्मक चित्रहरू रहेका छन् ।
हामीले विवाह मण्डपको दर्शन गर्यौं, जहाँ भगवान रामले धनुष वाण चलाएको र जानकीले धनुष उठाएको स्थान रहेछ । त्यसपछि लक्ष्मण मन्दिर, शालिकरामको शिला र बाबा भूतनाथ स्वर्गद्वार मन्दिरको दर्शन गर्यौं ।
त्यसपछि हामी राजा जनकको कुलदेवीको मन्दिर र राजमाता शक्तिपीठ राजदेवी मन्दिर पुग्यौं । यहाँ चैत महिनामा रामनवमी पूजा र मंसिर महिनामा रामजानकी विवाह उत्सव भव्य रूपमा मनाइने जानकारी प्राप्त गर्यौं । हामीले सुनेका थियौं कि रामजानकी मन्दिर जम्मा नौ लाख रुपैयाँमा निर्माण भएको हुनाले यसलाई नौलखा मन्दिर भनिन्छ ।
सर्लाहीको भरतताल भ्रमण
साँझ ४:०० बजे जनकपुरधामबाट निस्केर ५:०० बजे सर्लाहीको भरतताल आइपुग्यौं । अत्यन्त सुन्दर, विशाल र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भरततालमा हामीले साइकलिङ र बोटिङ गर्यौं । वरिपरि मानिसहरूको भिड, फोटो खिच्ने चहलपहल र रमाइलो माहोल देख्दा यात्रा अझ उत्साहजनक बन्यो । साँझ ७:०० बजे भरततालबाट गाडी चढेर १०:०० बजे घर फर्कियौं ।
यस एक दिने अवलोकनीय भ्रमणले धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र पौराणिक महत्वका स्थानहरूको बारेमा गहिरो जानकारी प्राप्त गरायो । धेरै समय टाढा-टाढाका स्थानहरूको भ्रमण गरिन्छ, तर नजिकका धार्मिक स्थलहरूको गरिमा र महत्त्व बुझ्नु पनि उत्तिकै आवश्यक छ ।
यस्ता यात्राले नयाँ पुस्तालाई पनि हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक धरोहर बारे जानकारी गराउन महत्त्वपूर्ण भूमिका खेल्छ । जय जनकपुरधाम ! जय मिथिला संस्कृति !




