महोत्तरी । महोत्तरीमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा उनकी श्रीमती पक्राउ परेकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकी श्रीमती सिर्जना महतो पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । गत शुक्रबार साँझ साढे ५ बजे गौशाला नगरपालिका ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा, रेलवे ट्र्याकदेखि १०० मिटर पर शिवशंकरको शव फेला परेको थियो ।
प्रहरीका अनुसार शवको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार, शिवशंकर श्रीमतीसँगै ससुराली जाँदै गर्दा घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको बताएको छ । केही व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा हत्या विवाहेत्तर सम्बन्धका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।




