झापा । झापाको कनकाई नगरपालिका ५ नारायणदल चोकमा डेरा गरी बस्ने एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ताप्लेजुङका ३९ वर्षीय लालबहादुर सार्कीले आफ्नी श्रीमती ४० वर्षीया मनिषाको हत्या गरेपछि आत्महत्या प्रयास गरेका हुन् ।
घटना रातिको समयमा पारिवारिक विवादपछि भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार, वादविवाद चर्किएपछि लालबहादुरले खुकुरी प्रहार गरी श्रीमतीको ज्यान लिएका थिए । त्यसपछि उनले आफूले पनि घाँटी रेटेर आत्महत्या गर्न खोजेका थिए ।
गम्भीर घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ । तर, घाइतेका दाजु सुरेन्द्र सार्कीका अनुसार आर्थिक अभावका कारण अस्पतालमा उपचार सुरू गर्न समस्या भएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




