हेटौंडा । हेटौंडामा घरायसी विवादका क्रममा ३५ वर्षीया महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । मृतक गुडिया दासलाई उनका आफ्नै देवरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार राति करिब ९ बजे हेटौंडा उपमहानगरपालिका १ चौकीटोलस्थित घरको दोस्रो तलामा गुडिया दास मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
यस घटनामा संलग्न रहेको आरोपमा २३ वर्षीय राहुल (रमेश) दासलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ । राहुलले आफ्ना माइलो दाजु २८ वर्षीय रुपेश दासमाथि पनि खुकुरी प्रहार गरेको बताइएको छ ।
रुपेशको टाउको, दाहिने हात र करङमा गम्भीर चोट लागेको छ, र अहिले मकवानपुर सहकारी अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले घाइते रुपेशको खबर पाएर घटनास्थल पुगेपछि माथिल्लो तलामा गुडिया मृत अवस्थामा फेला पारेको थियो ।
मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीका सिलसिलामा कतारमा रहेको जनाइएको छ । दास परिवार हेटौंडामा फलफूल व्यवसाय सञ्चालन गर्दै आएको थियो ।
हालसम्म घटना घरेलु विवादकै कारण भएको प्रारम्भिक अनुमान गरिएको छ, तर वास्तविक कारण भने खुलेको छैन । पक्राउ परेका राहुलले हत्या तथा आक्रमणको स्वीकारेको प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




