रौतहट । रौतहटको मध्य क्षेत्र गरुडा नगरपालिका अन्तर्गत तरकारी बजार क्षेत्रमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । स्थानीयका अनुसार, फुसको छाना भएका घरहरूमा लागेको आगोले केही क्षणमै ठूलो रुप लिएको थियो ।
घरभित्र रहेका ग्यास सिलिन्डर विस्फोट भएपछि आगो अझै फैलिएको र नियन्त्रण गर्न कठिन भएको बताइएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, बारुण यन्त्र र स्थानीय बासिन्दाहरूको टोली खटिएको छ ।
हालसम्म कति घर जलेर पूर्ण रूपमा नष्ट भए भन्ने आधिकारिक जानकारी प्राप्त नभएपनि स्थानीय स्रोतका अनुसार चारदेखि पाँचवटा घर जलेर नष्ट भइसकेका छन् ।
नगरपालिकाको अग्नि नियन्त्रण उपकरण प्रभावकारी रूपमा नचल्दा स्थानीयवासीहरूले नगरप्रमुख प्रति आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक हितका लागि आवश्यक पर्ने बारुण यन्त्रको उचित व्यवस्थापन नगरिएको भन्दै नगरवासीहरूले नेतृत्वको आलोचना गरेका छन् । इलाका प्रहरी कार्यालय, गरुडाका अनुसार आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।




