कैलाली । हुलाकी राजमार्ग अन्तर्गत कैलालीको कैलारी गाउँपालिका, मनिकापुर सडकखण्डमा शनिबार भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा ११ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
मृत्यु हुने बालक भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका आयुस बर्मा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । दुर्घटनामा परेका २७ भारतीय तीर्थयात्रीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अनियन्त्रित ट्याक्टर नालीमा खस्यो, चालक फरार
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिकास्थित बेहडाबाबा मन्दिरमा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री सवार ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने ट्याक्टरको नम्बर खुल्न सकेको छैन । बेहडाबाबालाई सीमापारिका भारतीय नागरिकले कुलदेवताको रूपमा पूज्ने गर्छन् ।
उद्धार र उपचार
ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ । घाइतेहरूको उद्धार प्रहरीले स्थानीय र रेडक्रसकर्मीको सहयोगमा गरेको थियो । घाइतेहरूलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।






