बीबीसी । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ का परीक्षाहरू स्थगित गर्न सिफारिस गरिएको बताएपछि त्यसबारे चासोहरू व्यक्त हुन थालेका छन् । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरिसकेको छ ।
शुक्रवार साँझ राज्यमन्त्री श्रेष्ठले बढ्दो कोरोना भाइरस संक्रमणकाबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको एउटा ट्वीटमार्फत् जानकारी गराएका हुन् ।
“कोभिड-१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षा प्रति हामी अत्यन्त संवेदनशील छौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु ।”
केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
परीक्षा स्थगन पक्का भएको हो ?
स्वास्थ्य राज्यमन्त्रीको ट्वीट आएपछि विभिन्न सञ्चारमाध्यमले परीक्षाहरू स्थगित हुने भनेर जनाएका छन् । तर राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले त्यस बारे निर्णय भइनसकेको बीबीसी नेपालीलाई बताए ।
“परीक्षा स्थगित गर्ने अथवा फरक ढाँचामा गर्ने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन । भोलि बोर्डको बैठक बसेर छलफल गर्ने कुरा छ,” उनले भने । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पनि बीबीसी नेपालीलाई बताए अनुसार शनिवारको बैठकबाट परीक्षाका सम्बन्धमा निर्णय हुन सक्छ ।
यसअघि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले निर्धारित परीक्षा बारे पुनर्विचार गर्न परीक्षा बोर्डलाई आग्रह गरेको थियो । अध्यक्ष पौडेलका अनुसार परीक्षा अगावै सहभागी हुने सबैलाई खोपको व्यवस्थापन गर्न र परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न आग्रह गरेकोमा स्वास्थ्य मन्त्रालयले त्यो हाललाई सम्भव नभएको जबाफ पठाएको थियो ।






