रौतहट । रौतहट प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी ल्याइएको सामानसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ४ बथनाहास्थित चेकपोस्ट टोलमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छलि भारतबाट ल्याइएका विभिन्न सामानहरू बरामद गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्ति रौतहट, कटहरिया नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षीय जुगनु साह हुन् । उनको साथबाट भन्सार छली गरी ल्याइएका करिव ६ लाख १९ हजार ९ सय ६० रुपैँया बराबरका विभिन्न सामाग्री बरामद गरिएको छ ।
त्यस्तै, ७ लाख मूल्य बराबरको महिन्द्रा किबर्रा गाडी प्र ०२–००२ च १३२२० समेत बरामद गरिएको छ । बरामद सामान र पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार रायले जानकारी दिए ।




