१. नेपालका शिक्षकले (प्रधानाध्यापक बाहेक) भ्रष्टाचार गर्दैनन्, गर्ने ठाउँ पनि हुँदैन । तलब बाहेक थप पैंसा कमाउन पाउँदैनन् । त्यही भएर उनीहरूलाई नेपाली समाजले कौडीको भाउ दिँदैन, इज्जत र सम्मान गर्दैन आज भोलि ।
२. नेपाली समाज मानसिक रूपमा यति भ्रष्ट भइसक्यो कि, पैंसा कमाउन नसक्ने पेशा वा व्यक्तिलाई इज्जत गर्न छोडी सक्यो । आफू र आफ्नै छोरा छोरीहरू पढाउने शिक्षकको इज्जत सम्मान गर्दैन । यो एउटा नेपाली समाजको नयाँ विकृत रूप हो ।
यसको पछाडि धेरै कारणहरू मध्ये एउटा प्रमुख कारण भनेको सबै क्षेत्रमा कालो धन थुपारिरहेका भ्रष्टाचारीहरुको बोलवाला हुनु हो । भ्रष्टाचारीहरु ऊपर कारबाहीको सट्टा उल्टो पुरस्कृत हुनु हो ।
३. अझ नेपालको राज्य पक्षले त शिक्षकहरूलाई खेताला जस्तै व्यवहार गर्दछ । आफ्नै पार्टीका झोले सम्झिने गरेको छ । थुप्रै शिक्षकहरू पनि अनेक कारणले गर्दा झोले बनेर हिँडेका छन् । त्यस मध्ये कसैको बाध्यता छ तर धेरैले रहरले झोले हुने गर्छन् ।
४. यहाँ बिर्सन नहुने एउटा विशेष रूपमा राख्नु पर्ने हुन्छ त्यो हो, नेपालमा शिक्षकहरू पटक पटक देशकै प्रमुख कार्यकारी प्रधानमन्त्रीबाट समेत सार्वजनिक रूपमा अपमानित भएका छन् ।
५. जागीरको निम्ति, अरु जागिर खान नसकेमा वा विदेश जान पैसा नभएमा वा विदेश जानको लागि साहुले ऋण नदिएमा मात्र शिक्षक बन्ने अवस्था ल्याइएको छ ! यति तल्लो स्तरमा झारिएको छ नेपालका शिक्षकलाई ! यो अवस्था भनेको नरकको जागिर जस्तो होइन ?
यस्ता गम्भीर कारणहरूले गर्दा, पढाइमा अब्बल दर्जाका विद्यार्थीहरुले शिक्षक बनेर समाज सेवा गर्न छोडी सके । यस्तो क्षेत्रमा सेवा गर्ने कुरा पनि रहेन । रहरले शिक्षक हुने अवस्था अब रहेन नेपालमा ।
६. आदर्श समाजको निर्माण शिक्षक र विद्यार्थीबाट मात्र सुरु हुन्छ । तर प्रत्येक विद्यालयमा पार्टीको कोटामा शिक्षकहरु नियुक्त हुन थालेका छन् । स्कूलहरु पार्टीका भर्ती केन्द्र बनाउने प्रयास भइरहेको छ ।
७. सार्वजनिक शिक्षा अर्थात् सरकारी स्कूलहरु अब्बल दर्जाका शैक्षिक संस्था हुनु पर्नेमा यहाँ त उल्टो भइरहेको छ । सायद यो अवस्था नेपालमा मात्र होला ।
८. घोर अचम्मको कुरा के छ भने, शिक्षा माफिया, निजी क्षेत्रका स्वघोषित शैक्षिक विज्ञहरुले नेपालको शिक्षा नीति बनाउने गरेको पो देखिन्छ । शिक्षक र विद्यार्थीको निम्ति नेपालको सरकार छैन । राज्य छैन । आफ्नै समाज छैन । तलब लिने दिने त अब यांत्रिक रूप लिँदै छ । हिजोका दिनमा भइरहेको हुँदा, त्यसलाई बन्द गर्न मात्र नसकेको हो, सरकारले ।
९. यी विविध कारणले गर्दा नेपालका शिक्षकहरूको गुणस्तर पनि खस्केको छ । अब यो बाट मुक्ति पाउन कठिन छ। नेपालको सरकारी शिक्षाको स्तर सायद सधैंको निम्ति ओरालो लागेको लागी छ । यसलाई पुन: माथि उठान विवेकशील जिम्मेवार सचेत कार्यकारी प्रमुख वा सरकार देशले खोजिरहेको छ । त्यो नयाँ बिहानी हामीले देख्न पाइएला त ? कुनै संकेत छैन क्षितिजमा समेत !
१०. समाजका सबै भन्दा मूल्यवान गहना शिक्षकको अपमान बाहेक केही नगर्ने पनि राज्य हुन्छ ? यस्तो पनि सरकार हुन्छ ? यस्तो पनि समाज हुन्छ ? धत कस्तो समाज निर्माण हुँदै छ हाम्रो नेपालमा ?
अस्तु ।






