कैलाली । कैलाली जिल्लाको विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले ब्राउनसुगर र हेरोइन जस्तो देखिने पदार्थ बरामद गर्दै शुक्रबार दिनभरि गरिएको कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
धनगढीबाट तीन जना पक्राउ
धनगढी उपमहानगरपालिका २ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने २२० मिलिग्राम पदार्थसहित उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय कमल रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी, सोही स्थानबाट शुक्रबार राति प्रहरीले थप दुई जनालाई १ ग्राम १८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ८ का १९ वर्षीय गोविन्द कठायत र २२ वर्षीय दीपक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले तीनै जनालाई अलग–अलग स्थानमा नियन्त्रणमा लिएको हो ।
भजनीबाट हेरोइनसहित तीन जना पक्राउ
कैलालीकै भजनी नगरपालिका ३ जवलपुरबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने २ ग्राम १५० मिलिग्राम लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थानका २२ वर्षीय सागीराम चौधरी, काडा बस्ने २१ वर्षीय निरज चौधरी र भजनी नगरपालिका २ का २३ वर्षीय निरज चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले सागीराम चौधरीको घरमा तलासी गर्दा लागूऔषध बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । लागूऔषधको रोकथामका लागि प्रहरीले निगरानी तथा कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ ।






