सिरहा । गोलबजार नगरपालिका ९ गोविन्दपुरमा १३ वर्षीया गुलसना खातुनको विद्युतीय धरापमा परेर ज्यान गएको छ । जंगलबाट मकैबाली जोगाउन राखिएको धारिलो करेन्टयुक्त फन्दामा परेर खातुनको मृत्यु भएको हो ।
सिरहा प्रहरीले दिएको जानकारी अनुसार, मकैबाली जोगाउन बनाइएको उक्त धराप स्थानीय २४ वर्षीय वीरबहादुर सार्कीले थापेका थिए । प्रहरीले उनलाई चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।
हाल उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए । जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
मृतक गुलसना खातुन फागुन २९ गते बिहान घाँस काट्न घरबाट निस्केकी थिइन् तर त्यसयता बेपत्ता थिइन् । भोलिपल्ट उनकी आमा जेहदा खातुनले मिर्चैया प्रहरीमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।
हराएको १३ दिनपछि, चैत १२ गते घुर्मी खोला किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा शव फेला परेको थियो । शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा बालिकाले घाँस काट्न लगेको हँसिया समेत घटनास्थल नजिकैबाट बरामद गरिएको छ । प्रहरीका अनुसार, फागुन २९ गते बिहान करिब ९ बजे सार्कीले विद्युतीय धराप थापेको केहीबेरमै बालिकाले चिच्याएको आवाज सुनेको जानकारी आएको छ ।
त्यसपछि उनले डरले शवलाई बोरामा राखेर खोला किनारको खाल्डोमा गाडेको खुलेको हो । उक्त घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, मधेस प्रदेश प्रहरी र मिर्चैया प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।




