काठमाडौं । अरूको प्लटिङ गरिएको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ का ४३ वर्षीय रामकुमार चौलागाईंलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ७ दक्षिणढोका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । चौलागाईंविरुद्ध काठमाडौं उपत्यकाका विभिन्न कार्यालयहरूमा ८ वटा ठगी र बैंकिङ कसुरका उजुरीहरू दर्ता भएका छन्, जसमा कुल १ करोड ७५ लाख ८५ हजार रुपैयाँको बिगो रहेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार, चौलागाईंले ठगीका विभिन्न घटनामा संलग्न रहँदै आइरहेको र यस घटनामा थप अनुसन्धान भइरहेको बताएका छन् ।




