हेटौंडा । अवलोकन भ्रमण सकेर फर्कने क्रममा दुर्घटनामा परेका भीमफेदी गाउँपालिकाका पशु प्राविधिक विमल ढुंगाना हेटौंडामा मृत फेला परेका छन् । उनी आत्महत्या गरेको अवस्थामा बिहीबार बिहान भेटिएका हुन् ।
गएको चैत २२ गते शुक्रबार भीमफेदी गाउँपालिकाबाट धरान, धनकुटा, कन्याम लगायत स्थानहरूको पाँचदिने अवलोकन भ्रमणमा निस्किएको टोली बुधबार राति फर्कने क्रममा दुर्घटनामा परेको थियो ।
बकैया गाउँपालिका ३, चिसापानीस्थित धरान–चतरा सडकखण्डमा ओरालोमा गइरहेको बागमती प्रदेश ०६–००१ ख ०२७० नम्बरको बस चिप्लिएर दुर्घटनामा परेको थियो । बसमा ३१ जना सवार थिए, जसमा २३ जना घाइते भए ।
घाइतेमध्ये एक थिए विमल ढुंगाना, जो विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकामा कार्यरत पशु प्राविधिक हुन् । सामान्य चोट पटक लागेका उनलाई उपचारपछि बिहीबार बिहान ३ बजे हेटौंडा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
डिस्चार्जपछि उनी भीमफेदी फर्कने कि घर (हर्नामाडी) जाने भन्ने विषयमा अनिश्चित थिए । सहकर्मीहरूसँगको छलफलपछि उनी एक्लै हेटौंडा २ स्थित संगमचोकतर्फ हिँडेका थिए । त्यही बेलामा वडासदस्य उदयप्रसाद कटुवालले उनलाई हेटौंडा ११, नवलपुरस्थित आफ्नै घरमा बस्न प्रस्ताव गरेका थिए ।
कटुवालको घरमा दोस्रो तलामा सुतेका विमल बिहान अबेरसम्म नउठेपछि शंका लागेर झ्यालबाट हेर्दा उनी पंखामा झुण्डिएको अवस्थामा भेटिए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर ढोका फोडी शव निकालेको थियो । प्रहरीले प्रारम्भिक रूपमा आत्महत्याको आशंका गरेको छ ।
घटनाको पृष्ठभूमिमा तनाव र मौनता
विमलले आफूले नै रिजर्भ गरेर ल्याएको बस प्रयोग भएको टोलीका सदस्यहरूलाई थाहा थिएन । सहकर्मी रुविन घर्तीका अनुसार, सवारी व्यवस्थापनको जिम्मा पशु शाखा प्रमुख सरोज ओझाले विमललाई दिएका थिए । दुर्घटनापछि विमल मानसिक रूपमा अत्तालिएका देखिएका थिए ।
भ्रमणमा सँगै रहेका कृषि प्राविधिक सुदीप पराजुलीले भने, “उहाँ सामान्य घाइते भए पनि दुर्घटनामा घाइते भएकाहरूको अवस्था देखेर विक्षिप्त देखिनुहुन्थ्यो ।” विमलले उक्त बस आफनै हो भन्ने विषय कसैलाई पनि जानकारी दिएका थिएनन् ।
दुर्घटनामा बस क्षतिग्रस्त भएपछिको मानसिक तनाव, घाइतेहरूको उपचार र संभावित जिम्मेवारीको चिन्ताले उनी मानसिक रूपमा थिचिएको हुन सक्ने आफन्तहरूको अनुमान छ । छिमेकीका अनुसार, केही समयअघि विमलले स्कारपियो बेचेर बस किनेका थिए ।
युवावस्थामै असामयिक बिदाइ
विमल ढुंगाना विश्वनाथ र सत्यवती ढुंगानाका कान्छा छोरा थिए । उनी अविवाहित थिए र हाल उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
भ्रमणको सुखद अन्त्यको अपेक्षामा निस्किएका कर्मचारीहरूका लागि यो दुर्घटना र त्यसपछिको घटनाक्रम एक गहिरो पीडाका रूपमा देखिएको छ ।




