रौतहट । राजपुर नगरपालिकामा बुधबार राति भएको आगलागीबाट विभिन्न व्यापारिक प्रतिष्ठान जलेर करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
राजपुर नगरपालिका ६ स्थित प्रमोद साह कलवारको मोटरसाइकल वर्कशप, वडा नम्बर ५ मा रहेको शेख एकरामुलको पान पसल, रहमत अलीको मिठाई पसल र मन्जर आलमद्वारा सञ्चालित बस टिकट काउन्टरमा एकै साथ आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार टिकट काउन्टरमा विद्युत् सर्ट भएर आगो सुरु भएको अनुमान गरिएको छ । सो स्थानबाट सुरु भएको आगो छेउछाउका पसल र वर्कशपमा समेत फैलिँदा ठूलो क्षति भएको हो ।
प्रहरी निरीक्षक उमाशंकर प्रसादले सबैभन्दा बढी क्षति प्रमोद साहको मोटरसाइकल वर्कशपमा भएको जानकारी दिए । उनका अनुसार वर्कशपमा रहेका टायर, मोबिल, हावाभर्ने टंकी लगायत सामग्री जलेर करिब १० लाख रुपैयाँको क्षति पुगेको छ ।
यस्तै, पान पसलमा करिब १ लाख र टिकट काउन्टर तथा मिठाई पसलमा पनि आंशिक क्षति भएको प्रहरीले जनाएको छ । घटना बारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट प्रभावित व्यापारीहरूमा तनाव र क्षतिको पीडा छाएको छ ।




