रौतहट । रौतहटस्थित माधवनारायण नगरपालिकाका निमित्त कार्यकारी प्रमुख इञ्जिनियर नागेन्द्रप्रसाद यादवमाथि अनियमितता र भ्रष्टाचारको गम्भीर आरोप लाग्दै छानबिनको माग गरिएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताले संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दर्ता गराउँदै यादवमाथि अवैध रूपमा दरबन्दी हत्याउने, कानूनी प्रक्रिया बेवास्ता गर्ने तथा भ्रष्टाचारमा संलग्न रहेको दाबी गरेका छन् ।
गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधवनारायण नगरपालिकाको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् । उजुरीमा भनिएको छ, “उक्त माधवनारायण नगरपालिकामा काम गर्न कुनै वैधानिक प्रक्रिया नपुर्याई, निजामती सेवामा समावेश नभएका इञ्जिनियर यादवलाई ठूलो रकमको चलखेलका आधारमा उपसचिव तहको दरबन्दी दिलाएर निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ ।”
गुप्ताले प्रस्तुत गरेको उजुरीमा माधवनारायण नगरपालिकामा उपसचिव तहको दरबन्दी भएको स्थानमा प्रशासकीय अधिकृत नै नपठाई, कानूनी प्रक्रिया विपरीत यादवलाई नियुक्ति दिइएको र सो कार्यमा भ्रष्टाचार समेत भएको आरोप लगाइएको छ ।
“उक्त कार्य प्रति तत्कालन ध्यानाकर्षण गरी कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका यादवलाई हटाइ, उपसचिव तहको दरबन्दीमा कानून बमोजिमको व्यक्तिलाई खटाइनु पर्दछ,” उजुरीमा भनिएको छ । साथै गुप्ताले सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशनसहित परिपत्र जारी गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
उक्त उजुरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई बुझाइएको छ । यस प्रकरणले स्थानीय तहमा देखिएको पदपूर्तिको अपारदर्शिता र सम्भावित राजनीतिक चलखेलप्रति पुनः एकपटक प्रश्न उठाएको छ । राज्य व्यवस्था समितिले उजुरीमाथि के निर्णय लिन्छ, त्यसतर्फ सबैको ध्यान गएको छ ।




