काठमाडौं । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ भने उनकी छोरी घाइते भएकी छन् । बिहीबार पोखरा ९ स्थित बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
सो दुर्घटनामा परेर पोखरा १४ चाउथेका ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चलाइरहेकी उनकी छोरी २३ वर्षीया सुस्मिता कँडेल घाइते भएकी छन् । उनको हात र घुँडामा सामान्य चोट लागेको छ । दुर्घटनापछि ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






