सर्लाही । सर्लाहीको प्रमुख सहर बरहथवामा सञ्चालनमा रहेका ११ वटा निजी अस्पताल र पोलिक्लिनिकहरू कानुनी मापदण्ड तथा सरकारी दर्ता प्रक्रियाबिना सञ्चालन भइरहेको पाइएको छ । बुधबार साँझ प्रदेश मुख्यमन्त्री सतीशकुमार सिंह स्वयं अस्पताल अनुगमनमा निस्किएपछि यी अनियमितता सार्वजनिक भएका हुन् ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा गरिएको अनुगमनमा सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिकले दर्ता, पूर्वस्वीकृति र आवश्यक मापदण्ड नै पालना नगरी सेवा प्रदान गरिरहेको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार, यी सबै संस्थालाई तत्काल सेवा बन्द गर्न पत्र काटिएको छ । उनले भने, “अस्पताल वा क्लिनिक सञ्चालन गर्न कानुनी प्रक्रिया पूरा गर्न अनिवार्य छ, तर यहाँ अधिकांशले न त दर्ता गरेका छन् न त आवश्यक पूर्वाधार नै छन् ।”
यो कदम एक दिनअघि गोल्डेन अस्पतालमा देखिएको विवादपछिको प्रतिक्रिया स्वरूप आएको हो । मंगलबार साँझ एक बिरामीसँग अत्यधिक रकम असुलिएको आरोप लगाउँदै आफन्तहरूले विरोध गरेपछि अस्पतालमा तनावको स्थिति सिर्जना भएको थियो । सोही घटनाको जानकारी पाउने बित्तिकै मुख्यमन्त्री सिंह बरहथवा पुगेका थिए ।
यसअघि पनि मुख्यमन्त्री सिंहले नवलपुर, लालबन्दी र मलंगवाका केही अस्पतालहरूमा अनुगमन गरेर अवैधरूपमा सञ्चालन भइरहेका संस्थाहरूमाथि कारबाहीको निर्देशन दिएका थिए । तर ती अस्पताल अझै पनि खुलेआम सञ्चालन भइरहेको गुनासो आइरहेकाले यो पटक सिंह स्वयं स्थलगत अनुगमनमा उत्रिएका हुन् ।
स्थानीयबासीहरूले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा देखिएको लापरवाही र अनियमितताको बारेमा आवाज उठाउँदै आएका थिए । अब भने सरकारको सक्रियता देखिएपछि उनीहरूमा आशा जागेको छ कि स्वास्थ्य सेवामा पनि अब पारदर्शिता र गुणस्तरको प्रत्याभूति हुनेछ ।
बरहथवा क्षेत्रलाई मधेसको एक व्यस्त व्यापारिक र शहरी केन्द्र मानिन्छ । यहाँको स्वास्थ्य प्रणाली व्यवस्थित र विश्वसनीय नहुँदा सर्वसाधारणले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता रहँदै आएको छ । यस्ता अवैध अस्पतालहरू रोकिएमा स्वास्थ्य सेवामा सुधारको अपेक्षा गरिएको छ ।




