बारा । बारा प्रहरीले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत विभिन्न स्थानबाट गरी ३६७ किलो १४० ग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीबाट मकवानपुर कैलास गाउँपालिका ४ का ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन र कैलास गाउँपालिका १० का २७ वर्षीय जीवन ठोकरलाई पक्राउ गरिएको हो ।
हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकी जाँच गर्दा उक्त सवारी साधनबाट लुकाई छिपाई राखिएको अवस्थामा ३०५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. ४ खुटवाका ३१ वर्षीय पवन कुमार साहलाई २ किलो १४० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
उता, इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले पचरौता नगरपालिका वडा नं. १ मुसहरीटोलस्थित मकैबारी हुँदै भारततर्फ ओसार पसार गरिँदै गरेको अवस्थामा ६० किलो गाँजा बरामद गरेको डिएसपी पण्डितले बताए ।
उक्त गाँजा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेका भारत बिहार राज्य मोतिहारी जिल्लाको पञ्चायत बिजवनी, थाना जितना, ग्राम रेगनिया निवासी २५ वर्षीय राजबिहारी कुमारलाई समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




