इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालकसहित ४ जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नम्बरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागि ४ जनाको ज्यान गएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिमबहादुर दाहालका अनुसार दुर्घटनामा जिप चालक फुङलिङ घर भएका गाडी चालक दुर्गा भट्टराई, ललितपुर घर भएकी आध्या आचार्य, झापा भद्रपुरका विनोद पौडेल र सरिता पौडेलको ज्यान गएको हो ।
आगोले जलेर सविना आचार्य गम्भीर घाइते भएको र उनका छोरा अभियव सामान्य घाइते भएका छन् । ज्यान गुमाउने आध्या सविनाकै छोरी हुन् भने विनोद र सरिता श्रीमान श्रीमति (अभियवका मावली हजुरबुवा हजुरआमा) हुन् ।
यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो घटना प्रति दुःख व्यक्त गरेका छन् । घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेलले जनाएका छन् ।
यसैगरी धनकुटामा ईभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका ५ देवीथानमा इटहरीतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा एकको अवस्था गम्भीर रहेको ट्राफिक कन्ट्रोल इटहरीले जानकारी दिए ।






