काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ९ सानागाउँमा गएराति एक महिलाको हत्या भएको छ । खुकुरी प्रहारबाट सानागाउँमा डेरा गरी बस्दै आएकी पुतली तामाङको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सिन्धुली माइती भएकी पुतली तामाङको हत्या आरोपमा उनका श्रीमान् पदमबहादुर तामाङ फरार रहेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका ७ स्थायी घर भएका ५८ वर्षीय पदमबहादुरले राति साढे ९ बजे आफ्नी श्रीमतीमाथि खुकुरी प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
घटनाका बेला घरमै रहेका मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीसमेत घाइते अवस्थामा फेला परेका छन् । उनीहरूलाई तुरुन्तै उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
पुतली तामाङको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका पदमबहादुरको खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




