सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप–रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसका प्रमुख किशोर कुमार साहले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान रकम हत्याउन फर्जी क्याम्पस प्रमुख नियुक्त गरेको खुलासा भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङसँगको मिलेमतोमा प्रमुख साहले आफ्नै क्याम्पसका अर्का शिक्षक मनोज कुमार साहलाई पूर्णकालीन प्रमुखको रूपमा देखाएर विश्वविद्यालय अनुदान आयोगमा पत्र पठाएको खुलेको हो ।
पूर्णकालीन प्रमुखको अनिवार्यता पछि मिलेमतो
अनुदान आयोगले पूर्णकालीन क्याम्पस प्रमुखलाई मात्र अनुदान दिने नीति ल्याएपछि, धनगढीमाई नगरपालिका ११ का स्थायी शिक्षक समेत रहेका किशोर कुमार साहले अध्यक्ष तामाङसँगको सहकार्यमा २०८१ कात्तिक २४ गतेदेखि लागू हुने गरी मनोज कुमार साहलाई पूर्णकालीन क्याम्पस प्रमुख बनाएको उल्लेख गर्दै आयोगमा पत्र पठाएका हुन् ।
यो पत्र २०८१ कात्तिक २७ गते तयार पारिएर चैत १२ गते आयोगमा पुगेको आयोगका वरिष्ठ सहायक शिवचन्द्र पटेलले पुष्टि गरे । उनले भने, “हाम्रोमा मनोज कुमार साहलाई क्याम्पस प्रमुख बनाइएको आशयको पत्र आएको छ, निर्णय भने आइसकेको छैन ।”
तर, मनोज कुमार साह भने आफूलाई उक्त नियुक्ति बारे कुनै जानकारी नभएको दाबी गर्छन् । “मलाई कसैले औपचारिक वा अनौपचारिक रूपमा केही जानकारी गराएको छैन,” उनले भने ।
सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङले पनि हाल क्याम्पस प्रमुख किशोर कुमार साह नै भएको बताएका छन् । जब सो पत्र फर्जी हो कि भन्ने प्रश्न गरियो, उनले भने, “क्याम्पस प्रमुखले क्याम्पसको हितका लागि नाम मात्र पठाउनुपर्छ भनेपछि मैले हस्ताक्षर गरिदिएको हुँ ।” क्याम्पस प्रमुख साह भने सम्पर्कमा आएनन् । पत्रकारले सोधपुछ गर्ने क्रममा उनले “कार्यक्रममा छु, पछि कुरा गरौंला” भन्दै फोन काटेका थिए ।
सञ्चालक समिति सदस्यहरूको असहमति
क्याम्पस सञ्चालक समिति सदस्य चन्दर यादव, नगरप्रमुख श्याम श्रेष्ठ र प्रदेश सांसद मनोज कुमार सिंहले उक्त नियुक्तिको विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन् । यादवले भने, “क्याम्पस प्रमुख फेरिएको हो भने यो फर्जी कागज हो ।” विद्यार्थी सुरेश रायका अनुसार हालसम्म क्याम्पस प्रमुख किशोर साह नै रहेको र उनी केही दिनदेखि क्याम्पस नआएको बताए ।
वित्तीय अनियमितता र मनपरीको आरोप
शिक्षकहरूका अनुसार किशोर साह र अध्यक्ष तामाङले विगत एक दशकदेखि क्याम्पसको नेतृत्वमा रहँदै करोडौं रुपैयाँको हिनामिना गर्दै आएका छन् । प्रत्यक्ष प्रमाणअनुसार, क्याम्पसको वार्षिक प्रतिवेदन २०८० अनुसार विद्यार्थीबाट लिइएको शुल्क र सार्वजनिक गरिएको विवरणमा ठूलो अन्तर देखिन्छ ।
२०७९/८० मा १४७५ विद्यार्थी भए पनि प्रति विद्यार्थी १६/१८ हजार रुपैयाँसम्म लिइएको देखिएको छ, जब कि प्रतिवेदनमा ११ हजार ५५० मात्र उल्लेख छ । यसै आधारमा ६६ देखि ९६ लाख रुपैयाँसम्म गोलमाल भएको अनुमान गरिएको छ । २०७८/०७९ मा पनि करिब ५९ देखि ८५ लाखसम्म अनियमितता भएको आरोप छ ।
क्याम्पस प्रमुख साहले लेखापाल विना आफैं लेखा र दर्ता चलानीदेखि विद्यार्थीको रसिद काट्ने जिम्मेवारी लिएर सम्पूर्ण आर्थिक कारोबारको नियन्त्रणमा राख्दै आएको सञ्चालक समिति सदस्यहरू बताउँछन् ।




