झापा । काठमाडौंमा शिक्षक आन्दोलनमा सहभागी भई फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शनिबार बिहान साढे ५ बजे झापाको शिवसताक्षी नगरपालिका ९ स्थित दूधे खण्डमा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना भएको हो ।
काठमाडौंबाट झापा गइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १६ जना शिक्षकमध्ये केहीलाई विर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा र अन्यलाई बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनापछि बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान थालेको जनाएको छ ।






