काठमाडौं । राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काको सम्मानमा नेपाल क्रिकेट संघ (क्यान) ले ‘७७’ नम्बर जर्सी प्रयोगमा नल्याउने भएको छ । अब ‘७७’ नम्बर जर्सी कुनै खेलाडीलाई नदिने क्यानले निर्णय गरेको छ ।
२१ साउनमा बसेको बैठकले पारस प्रति सम्मान जनाउँदै यो निर्णय गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । पारसले ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए । उनले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।
उनले यो जर्सी नम्बर छनोट गर्नुमा पनि रोचक संयोग छ । उनी ७ कात्तिकमा जन्मिएका थिए । कात्तिक सातौं महीना र ७ गते भएकाले ७७ नम्बर रोजेको उनले भनाइ छ । यससँगै उनी ७ नम्बरलाई ‘लक्की’ नम्बर पनि मान्छन् ।
उनी राष्ट्रिय टोलीका सातौं कप्तान हुन् । उनीभन्दा अघि उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दास कप्तान भएका थिए । उनको पहिलो अन्तर्राष्ट्रिय शतक पनि ७७ बलमा बनेको थियो ।
उनले सन् २०१२ को एसिसी ट्रफीमा कुवेत विरुद्ध ७७ बलमा नटआउट १०६ रन बनाएका थिए । त्यसयता राष्ट्रिय टोलीबाट पाँच शतक बनाएका छन् । अब कसैले पनि ७७ नम्बर भन्दा पारसलाई सम्झिन सकून् भनेर यो जर्सी नम्बर अरूलाई नदिने निर्णय गरिएको महासचिव प्याकुरेलले बताए ।
सन् २००२ बाट क्रिकेट खेल्न थालेका पारसले दुई वर्षअघि राष्ट्रिय टोलीको कप्तानी छाडेका थिए । अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका उनले अब क्यानमा आउने बताएका छन् ।






