झापा । झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक घटना मेचीनगरमा ट्रक र मोटरसाइकलको ठक्कर हुँदा भएको हो भने अर्को दुर्घटना ट्याक्टरबाट खसेर बालकको ज्यान गएको हो ।
झापा, मेचीनगर नगरपालिका १३ स्थित प्रगति सामुदायिक वन क्षेत्रमा बुधबार साँझ भएको हो । ना ३ ख २३५३ नम्बरको ट्रकले मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्जुनधारा नगरपालिका १० निवासी ६८ वर्षीय मोटरसाइकल चालक टंक प्रसाद बराल गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल बिएण्डसि अस्पताल, बिर्तामोड लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै झापा, गौरीगंज गाउँपालिका २ बाहुन टोलमा बिहीबार बिहान भएको हो । मे १ त ६२०० नम्बरको ट्याक्टरबाट चिया बगानतर्फ जाँदै गर्दा सोही ट्याक्टरमा सवार ९ वर्षीय देवराज मुर्मु खसेर गम्भीर घाइते भएका थिए ।
उनलाई दमक अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको हो । मृतक सोही ठाउँका ३९ वर्षीय सैला मुर्मुका छोरा हुन् । यस घटनामा पनि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






