धरान । धरान उपमहानगरपालिकामा मङ्गलबार विषादीको मात्रा अत्यधिक भेटिएको कारण करिब २४ क्विन्टलभन्दा बढी काउली (फूलकोबी) नष्ट गरिएको छ । धरान १३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले परीक्षण गर्दा उक्त काउलीमा ९७.४ प्रतिशत विषादीको मात्रा रहेको पुष्टि भएको थियो ।
अत्यधिक विषादीका कारण सार्वजनिक स्वास्थ्यमा जोखिम बढ्ने देखिएपछि तत्काल नष्ट गरिएको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले जानकारी दिए । त्यस्तै, छिमेकी इटहरी उपमहानगरपालिकाले पनि नियमित बजार अनुगमनका क्रममा अखाद्य र अस्वस्थकर सामग्रीहरू फेला पर्ने गरेको जनाएको छ । यस्ता वस्तुहरू भेटिएलगत्तै नष्ट गरिँदै आएको स्रोतले बताएको छ ।
तराईका अधिकांश बजारहरूमा विषादी मिसिएका तरकारीहरू सहज रूपमा पाइने र नागरिकले दैनिक उपभोग गरिरहेकाले अवस्था झनै गम्भीर बन्दै गएको देखिन्छ । धरानस्थित प्रयोगशालाको पछिल्लो परीक्षण विवरण अनुसार अन्य तरकारीहरूमा समेत उच्च मात्रामा विषादीको अवशेष पाइएको छ ।
परीक्षण अनुसार सादा सिमीमा ७.४४ प्रतिशत, गाँजरमा १०.११ प्रतिशत, खीरामा ३०.७३ प्रतिशत, गोलभेंडामा २५.२१ प्रतिशत, बन्दामा २९.६९ प्रतिशत र घिरौंलामा ३०.७८ प्रतिशतसम्म विषादीको मात्रा देखिएको हो । यस्तो तथ्यांकले सर्वसाधारणको भान्सामा दैनिकरूपमा कति विषादी पुगिरहेको छ भन्ने गम्भीर चिन्ता बढाएको छ ।
धरान प्रयोगशालाका नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार त्यहाँ ३५ प्रतिशतभन्दा कम विषादी भएका तरकारीलाई उपभोग गर्न योग्य मानिन्छ भने ३५/४५ प्रतिशतसम्म विषादी भएका तरकारीलाई केही दिन राखेर मात्र खान मिल्ने बताइएको छ ।
४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारीहरू भने पूर्ण रूपमा नष्ट गर्नुपर्ने मापदण्डअनुसार कारबाही गरिन्छ । रिजालका अनुसार हाल नेपालका थोक कृषि बजारहरूमा मुख्य रूपमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्र परीक्षण गरिँदै आएको छ ।
भारतबाट आयात हुने तरकारीहरूको परीक्षण पनि अनिवार्य गर्नुपर्ने स्थानीय बासीहरूले माग गरेका छन् । जनस्वास्थ्यका जानकारहरूले भने यस्ता विषादीयुक्त तरकारीहरूको नियन्त्रण नभए जनस्वास्थ्यमा दीर्घकालीन गम्भीर असर पर्न सक्ने भन्दै दोषी व्यापारी वा आपूर्तिकर्तामाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।






