मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटेबाट ठूलो परिमाणमा नियन्त्रित लागूपदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ९ बस्ने ३२ वर्षीय सुनिल पटेलसहित दुई जना रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो रौतहटबाट काठमाडौंतर्फ गइरहेको बा प्र ०१–०३१ च ५०२२ नम्बरको इभि गाडीलाई शंका लागेर जाँच गर्दा उक्त लागूपदार्थ फेला परेको हो । प्रहरीले गाडीमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकासँग प्रहरीले नोर्फिन २ सय ९६ एम्पुल, फेनारगन ३ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९६ एम्पुल, ट्रामाडोल २ हजार ९ सय ५० ट्याब्लेट र नाइट्राभेट ३ हजार ५ सय ४० ट्याब्लेट बरामद गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले लागूपदार्थ ओसारपसार गरिरहेको आशंकामा गाडी जाँच गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




