सर्लाही । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्ष पछिल्ला छ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । उपचार कक्षमा आइसीयू बेड र भेन्टिलेटरजस्ता अत्यावश्यक उपकरण उपलब्ध छन्, तर यी चलाउन सक्ने दक्ष चिकित्सकको अभावले कक्षको ढोका लामो समयदेखि बन्द छ ।
उपचार केन्द्रले विगतमा पटकपटक विज्ञापनमार्फत चिकित्सक नियुक्तिको प्रयास गरे पनि न त आवेदन दिन इच्छुकको संख्या पर्याप्त भयो, न त छनोटमा परेकाहरूले नै नियुक्ति लिन माने ।
सर्पको टोकाइको घटनाहरू वर्षेनी विशेष गरी गर्मीयाममा उच्च हुने हुँदा, केन्द्रमा दैनिक जसो बिरामी आउने गर्छन् । तीमध्ये गम्भीर अवस्थाका बिरामीलाई तत्काल भेन्टिलेटर सहायता आवश्यक पर्ने भए पनि त्यसको सुविधा उपलब्ध हुँदा हुँदै प्रयोग गर्न सक्ने जनशक्ति नहुँदा अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।
उपचार केन्द्रले २०७५ सालमा आइसीयू र भेन्टिलेटर जडान गरेको थियो। तर २०७६ मा गम्भीर अवस्थामा ल्याइएकी एक बालिकाको मृत्यु भएपछि उपचार कक्षमा तोडफोडको घटना भयो । त्यसयता, उपकरणको मर्मत भए पनि चिकित्सक नआएपछि कक्षमा ताला नै झुन्ड्याइएको छ ।
यसबीच, केही चिकित्सकलाई विशेष तालिमका लागि समेत पठाइएको थियो, तर तालिम लिए पनि उपकरण सञ्चालन गर्ने जिम्मा लिन कोही तयार भएनन् । हाल केन्द्रमा एक जना एमबीबीएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत छन् । नेपाली सेनाबाट खटिएका दुई जना स्वास्थ्यकर्मीले निःशुल्क सेवा दिँदै आएका छन् ।
उपचार केन्द्र खुला स्थानमा रहेको हुँदा भीड नियन्त्रण र कार्यसञ्चालनमा पनि समस्या हुने गरेको छ । स्वास्थ्य संरचना र उपकरण भए पनि जनशक्ति र व्यवस्थापन अभावका कारण सर्पदंशबाट गम्भीर अवस्थामा पुगेका बिरामीको ज्यान जोगाउने प्रयासमा केन्द्र पछाडि परेको छ ।
स्थानीयवासीहरू यस्तो अवस्थामा केन्द्रको प्रभावकारी सञ्चालन र जिम्मेवार स्वास्थ्य जनशक्ति व्यवस्थापनको माग गरिरहेका छन् ।




