काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन् । उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए ।
बिहीबार बिहान ६:३५ मा काठमाडौं ३२ तीनकुनेस्थित सडकमा बा ३ ख ७०६२ नम्बरको बस, बा प्र ०१-०२६ च २९२७ भ्यान र बा प्र ०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए ।
मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन् । घाइते चालकको ट्रकमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।






