धनुषा । सामाजिक सञ्जालको दुरुपयोग गरी सर्वसाधारणलाई विश्वासमा पारेर ठगी गर्ने गिरोहमा संलग्न सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका १ का २३ वर्षीय सुरज साह, क्षिरेश्वरनाथ नगरपालिका २ का २२ वर्षीय श्यामसुन्दर महरा, सोही नगरपालिका १ का २० वर्षीय रामकुमार महरा, सर्लाही बरहथवा नगरपालिका ७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरी गौशाला नगरपालिका १ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधिर कुमार महतो र गौशाला नगरपालिका २ का १९ वर्षीय अमित साह रहेका छन् ।
सामाजिक सञ्जालमार्फत ठगी
पक्राउ परेकाहरूले इन्स्टाग्राम, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गरी सस्तो दरमा मोबाइल, लत्ताकपडा लगायतका सामग्री उपलब्ध गराउने भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । उजुरीको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा उनीहरूले हालसम्म २१ वटा सामाजिक सञ्जाल अकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेको खुलेको छ । उनीहरूले सामाजिक सञ्जालमा विभिन्न आकर्षक सामानका फोटो र भिडियो पोष्ट गरी सामान खरिद गर्न इच्छुक व्यक्तिहरूलाई अग्रिम भुक्तानी गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बैंक र वालेट खातामार्फत लेनदेन
प्रहरीका अनुसार, ठगीका लागि सर्वसाधारणको नाममा बैंक, वित्तीय संस्था र मोबाइल वालेटमा खाता खोल्न लगाई सोही खातामा अनलाइनमार्फत रकम जम्मा गर्न लगाउने गरिन्थ्यो । पक्राउ परेकाहरूको साथबाट बरामद मोबाइलको अनुसन्धान गर्दा १ सय ८७ वटा बैंक तथा वालेट खाताको विवरण फेला परेको प्रहरीले जनाएको छ ।
उक्त खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रुपैयाँ ८ पैसा कारोबार भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ । पक्राउ परेकामाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको र जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।




