रामेछाप । मन्थली नगरपालिका ६ र ७ लाई जोड्ने तामाकोसी नदीमाथिको ठेडिखोला पक्की पुल निर्माणको अन्तिम चरणमै भाँचिएको छ । शुक्रबार अपराह्न पुलको अन्तिम स्पान भत्किएपछि परियोजनाको भविष्य अन्यौलमा परेको छ ।
करिब २३० मिटर लामो र ११ मिटर चौडाइको उक्त पुलमा चार वटा स्पान रहेका छन् । दुई स्पानको काम पहिल्यै सम्पन्न भइसकेको भएपनि बीचको अन्तिम स्पानको ढलान सम्पन्न भएको केही दिनमै संरचना क्र्याक भई भाँचिएको हो ।
संघीय सरकार अन्तर्गत सडक विभागको पुल महाशाखाबाट निर्माणाधीन उक्त पुल वर्षा सुरु हुनुअघि नै सञ्चालनमा ल्याउने तयारीमा थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिएपछि निर्माण प्रक्रिया नै अन्योलमा परेको हो ।
पुल निर्माणको जिम्मा पाएको कालिका–कल्पवृक्ष जेभीले २०७८ सालमा २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो (भ्याट र पिएस बाहेक) । हालसम्म भाँचिनुको कारण स्पष्ट भइसकेको छैन ।
निर्माण कम्पनीले प्राविधिक विज्ञ टोलीमार्फत पुलको क्षति परीक्षण गरी मूल्याङ्कन गर्ने बताइएको छ । त्यसपछि पुल पूर्णरूपमा पुनर्निर्माण गर्नुपर्ने वा मर्मत सम्भव हुने भन्ने निर्णय गरिनेछ ।
उक्त पुल रामेछापको मन्थलीदेखि खाँडादेवी गाउँपालिका हुँदै काठमाडौं पुग्ने सबैभन्दा छोटो मार्गको हिस्सा हो । साथै दोरम्बा, सुनापति लगायतका गाउँपालिकामा पुग्नका लागि पनि यो पुल प्रमुख विकल्प मानिन्छ ।






