झापा । झापाको विर्तामोड नगरपालिका ३ स्थित पुण्डरी टोलमा शुक्रबार दिउँसो भएको चोरीको घटनामा करिब १९ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।
स्थानीय किरण दाहालको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी करिब १९ लाख २ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति हाल फरार छन् । घटनापछि प्रहरी टोलीले घटनास्थलको निरीक्षण गर्दै फरार व्यक्तिको खोजी र घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको छ ।
दिनदहाडै भएको यस चोरीले स्थानीयमा सुरक्षा चुनौतीको प्रश्न उठाएको छ । प्रहरीले चोरी कसरी र कहिलेदेखि भएको हो भन्ने बारे थप विवरण संकलन गरिरहेको छ ।






