जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित ठेरा कचुरीमा आयोजित एक विवाह समारोहमा खाजा खाँदा सयभन्दा बढी जना बिरामी परेका छन् । जन्ती पक्ष जनकपुरधाम उपमहानगरपालिका २३ बाट समारोहमा सहभागी हुन आएका थिए ।
स्वयम्बर कार्यक्रम सकिएपछि जन्ती पक्षलाई खाजामा बुनियाँ, रसबरीलगायतका परिकारहरु खुवाइएको थियो । खाजा खाएपछि केही समयमा नै सहभागीहरूमा पेट दुख्ने, बान्ता आउने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिन थालेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
स्रोतका अनुसार ६० भन्दा बढी बिरामीलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई नजिकका स्वास्थ्य संस्थामा उपचार गराइएको छ । केही बिरामी उपचारपछि घर फर्किइसकेका छन् ।
स्वास्थ्य कार्यालयले खाजामा विषाक्त पदार्थ मिसिएको आशंका गर्दै घटनास्थलबाट नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको जनाएको छ । परीक्षणको नतिजाले वास्तविक कारण पुष्टि गर्नेछ ।




