बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला हुलाक कार्यालयमा व्यापक वित्तीय अनियमितता भएको भन्दै तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार जिल्ला हुलाक कार्यालय बारामा कार्यरत रहेका तत्कालीन नासु बलिरामप्रसाद कुर्मी, तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहले मिलेमतोमा सार्वजनिक रकम हिनामिना गरेका छन् ।
उनीहरूले हुलाक बचत बैंकमार्फत जम्मा भएको रकममा अनियमितता गरी ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बराबरको हिनामिना गरेको अख्तियारको दाबी छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उक्त बिगो असुल उपर गर्नुपर्ने मागसहित मुद्दा दायर गरिएको हो ।
अख्तियारले दोषीहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो असुल उपरको सजाय माग गर्दै विशेष अदालतमा अभियोगपत्र पेश गरेको छ । आयोगले हालै भ्रष्टाचारका घटनाहरूमा निगरानी र कारबाही तीव्र बनाउँदै गएको सन्दर्भमा यो मुद्दा महत्त्वपूर्ण रुपमा हेरिएको छ ।




