काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा भएको महिला हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने नुवाकोट सूर्यगढी नगरपालिका १ घर भएकी २८ वर्षीया बिमला तामाङको हत्या गरेको आरोपमा धादिङ गल्छी गाउँपालिका घर भइ सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षीय रामचन्द्र पन्तलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
गत चैत २९ गते साँझ काठमाडौं महानगरपालिका २८ स्थित एक गेष्ट हाउसको कोठामा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पन्तलाई काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको जानकारी दिएको छ ।
पन्त घटनापछि फरार रहेको र उनी घटनामा प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका पन्तमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






