काठमाडौं । काठमाडौं उपत्यकामा नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कागजात र छाप बनाउने गिरोह प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तारकेश्वर नगरपालिका ७ फुटुङबाट गिरोहका तीन सदस्यलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका १ मसेल घर भई तारकेश्वर २ देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, मकवानपुर कैलाश गाउँपालिका २ घर भई काठमाडौं चन्द्रागिरी १ दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री र ओखलढुंगा चम्पादेवी गाउँपालिका ७ घर भई काठमाडौं बुढानिलकण्ठ १२ बस्ने २८ वर्षीय निर्मल खड्का रहेका छन् ।
प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार अन्जनी बयलकोटी सो गिरोहका मुख्य नाइके हुन् भने अञ्जु खत्री र निर्मल खड्का नक्कली कागजातको डिजाइन तथा सम्पादनमा सहयोगीका रूपमा संलग्न थिए ।
बयलकोटीले विगत सात वर्षदेखि तारकेश्वरमा कोठा भाडामा लिएर नक्कली प्रमाणपत्र बनाउने काम गर्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार, उनले खत्री र खड्कालाई मासिक १०/१५ हजार रुपैयाँ तलबमा राखेर कागजात बनाउने जिम्मा दिएका थिए ।
गिरोहले त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका शैक्षिक प्रमाणपत्र, मार्कशीट, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्र, स्थानीय तहको सिफारिस पत्र, बिहे दर्ता प्रमाणपत्र, बैंक तथा सहकारी संस्थाका स्टेटमेन्ट, राजनीतिक पार्टीका लेटरप्याड, मेडिकल रिपोर्ट लगायतका कागजातहरू नक्कली बनाउने कार्य गर्दै आएको पाइएको छ ।
उनीहरूले जापान जान चाहने विद्यार्थी तथा कामदारका लागि शैक्षिक प्रमाणपत्र, सहकारी संस्थाको स्टेटमेन्ट, म्यारिज सर्टिफिकेट र अन्य आवश्यक कागजात नक्कली बनाई पठाउने गरेका थिए । त्यस्तै, विदेशमा बसोबास अनुमति (पिआर वा ग्रीन कार्ड) को लागि मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल र वीर अस्पतालका मेडिकल कार्डहरू समेत बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरूको साथबाट माइग्रेसन सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, एकेडेमिक ट्रान्सक्रिप्ट, म्यारिज रजिष्ट्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, जग्गा धनी पूर्जा, सहकारी संस्थाको लेटरप्याड, वार्षिक आम्दानी विवरण, बैंक स्टेटमेन्ट, स्थानीय तहको सिफारिस पत्रसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको छाप र दस्तखतसहितको सयौं थान स्ट्याम्प प्याड बरामद गरेको छ ।
साथै, लेमिनेसन मेसिन, हिटिङ मेसिन, डाइ कटर, स्ट्याम्प मेसिन, खाली स्ट्याम्प, मोबाइल फोन, मेडिकल कार्ड, कम्प्युटर सामग्री र प्रिन्टरसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ । प्रहरीले यो गिरोहलाई संगठित अपराधको रूपमा लिई थप संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ ।






