सिरहा । सिरहामा प्रहरीले लागुऔषध कारोबारीको घरबाट झन्डै ५५ लाख रुपैयाँबराबरको नगदसहित ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेको छ । सिरहा नगरपालिका २२ निवासी ३२ वर्षीय दिनेशकुमार यादवको घरमा छापा मार्दा प्रहरीले ५४ लाख १४ हजार १८५ रुपैयाँ नेपाली, ३५ हजार ७० भारतीय रुपैयाँ, १८० ग्राम ब्राउनसुगर र लागुऔषध तौल्ने इलेक्ट्रोनिक तराजु बरामद गरेको हो ।
यसअघि प्रहरी टोलीले शुक्रबार लहान नगरपालिका १२ भोटिया टोलबाट को५प ६९२७ नम्बरको मोटरसाइकलमा सवार दिनेशकुमार यादवलाई २१ ग्राम ब्राउनसुगर र ५१ हजार ४५० रुपैयाँ नगदसहित पक्राउ गरेको थियो । मोटरसाइकलमा सँगै रहेकी उनकी २६ वर्षीया बहिनी किरण कुमारी यादव पनि पक्राउ परेकी छिन् ।
सिरहा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउपछिको अनुसन्धानक्रममा यादवको घरमा छापा मार्दा थप लागुऔषध र रकम बरामद गरिएको हो ।
प्रहरीका अनुसार दिनेशकुमार यादव यसअघि २०७८ साउन १२ गते ३.६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । सो मुद्दामा ६ महिनाको सजाय भुक्तान गरी २०७८ माघ ५ गते जेलमुक्त भएका उनी पुन: लागुऔषध कारोबारमा सक्रिय बनेको देखिएको छ ।
“जेलबाट छुटेपछि पुनः सक्रिय”
“जेलबाट छुटेपछि उनी फेरि लागुऔषध कारोबारमा लागेका थिए, यो कारोबारमा आफ्नी बहिनीलाई पनि संलग्न गराएको देखिएको छ,” प्रवक्ता पासवानले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यादवले लागुऔषध कारोबारबाट कमाएको रकम घरमै जम्मा गरेर राख्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
१६ लाखभन्दा बढी नगदसहित अर्को व्यक्ति पक्राउ
यसैबीच, सिरहा प्रहरीले शनिबार सिरहा नगरपालिका २ महावीर चोकनजिकै स्रोत नखुलेको १६ लाख ३८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका १७ का सञ्जय कारक रहेका छन् ।
बिआर ०६–४६२९ नम्बरको मोटरसाइकलमा सवार कारकको झोलाबाट उक्त रकम बरामद गरिएको सिरहा प्रहरीका प्रवक्ता पासवानले जानकारी दिए । उनीसँगै बरामद भएको रकमको स्रोत नखुलेपछि कारकमाथि पनि अनुसन्धान भइरहेको छ ।




