मोरङ । मोरङको रतुवामाई नगरपालिका ६ स्थित त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ । आइतबार साँझ भएको दुर्घटनामा रतुवामाई नगरपालिका ५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । उनी आफ्ना छोरा रमेश मेहताको पछाडि सवार थिइन् ।
प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा सडकमा अचानक कुकुर देखिएपछि जोगाउने प्रयासमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहताको उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा साँझ ७:१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक तथा मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






