इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत अधिकृत तहकी एक महिला कर्मचारीले झन्डै ६ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा फरार रहेकी छिन् ।
ठगीको आरोप लागेकी व्यक्ति इटहरी १५ की सुस्मिता लुइटेल हुन्, जो हालसम्म ६५ दिनदेखि कार्यलयमा अनुपस्थित रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
लुइटेलले झापा र सुनसरीका झण्डै दुई सयभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ । पीडितहरूमा सर्वसाधारण, सहकर्मी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी समेत रहेका छन् ।
ठगीको शैलीमा उनले पारिवारिक समस्या, स्वास्थ्य समस्या र आपतकालीन आवश्यकताको बहाना बनाउँदै विभिन्न व्यक्तिसँग १ लाखदेखि २४ लाख रुपैयाँसम्म सापटी लिएको र समयमै रकम फिर्ता नगरी सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।
लुइटेल यसअघि झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत थिइन् । त्यहाँ रहँदा समेत उनले कार्यालय प्रमुखको हस्ताक्षर दुरुपयोग गरी राजस्वमा अनियमितता गरेको आरोप लागेको थियो ।
सोही विवादपछि उनी भदौ ६ गते इटहरी सरुवा भएकी थिइन् । इटहरी आइपुगेपछि केही समयसम्म नियमित देखिएकी उनी अहिले पूर्ण रूपमा सम्पर्कबिहीन बनेकी छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ४० भन्दा बढी पीडितहरूले लुइटेलविरुद्ध २ करोडभन्दा बढी रकम असुलीको मागसहित उजुरी दर्ता गराएका छन् । पीडितहरूमा मोहन दंगाल, विकास पौडेल, बिपिन भट्टराई लगायतका व्यक्तिहरू रहेका छन् ।
प्रहरीका अनुसार लुइटेलले प्रयोग गर्दै आएको मोबाइल नम्बर ९८०६१६७५७१ हाल स्वीच अफ रहेको छ । उनी हाल कुन स्थानमा छन् भन्ने यकिन नभएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाका अनुसार लुइटेल ६५ दिनदेखि बिना सूचना कार्यस्थलमा अनुपस्थित रहेकी छन् । प्रहरी र प्रशासनले घटना बारे विस्तृत अनुसन्धान सुरु गरेको छ । पीडितहरूले न्याय र रकम फिर्ताको माग गरेका छन् ।






